विवाह समारोहमा झडप, कञ्चनपुरमा १८ वर्षीय युवकको धारिलो हतियार प्रहार गरी हत्या

पालिका संचारकर्मी
८ बैशाख २०८३, मंगलवार ११:४७

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाह समारोहकै क्रममा भएको झडपमा १८ वर्षीय उज्वल सायरको मृत्यु भएको छ। घटनामा उनलाई धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार गएराति करिब साढे १ बजे विवाहमा सहभागी भएकाहरूबीच विवाद बढ्दै जाँदा झडप भएको थियो। सोही क्रममा उज्वलमाथि छातीमा धारिलो हतियार प्रहार भएको हो।

गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

घटनामा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। उनीहरूको परिचय भने हाल गोप्य राखिएको छ।