शुक्लाफाँटा निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु, वैशाख १२ सम्म सञ्चालन

पालिका संचारकर्मी
८ बैशाख २०८३, मंगलवार ११:४५

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ। निकुञ्ज कार्यालय, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषसहितका साझेदार संस्थाको संयुक्त सहभागितामा गणना प्रक्रिया अघि बढाइएको हो। यस कार्यका लागि ३५ जना जनशक्ति परिचालन गरिएको छ।

सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार ‘हेड काउन्ट’ विधिबाट गणना भइरहेको छ। मचान, फायरलाइनमा सवारीसाधन र हात्तीको सहायताबाट बाह्रसिङ्गा अवलोकन तथा गणना गरिने व्यवस्था मिलाइएको छ।

गणनाका क्रममा बाइनाकुलर, क्यामेरा, टेलिस्कोप, दूरबिन र ड्रोनजस्ता उपकरणको प्रयोग भइरहेको छ। दुर्गम क्षेत्रमा पहुँचका लागि तीनवटा हात्ती परिचालन गरिएको छ भने फायरलाइनमा दुई सवारीसाधन र मचानमा प्राविधिक टोली खटाइएको छ।

गणना बिहान ६ देखि ९ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म सञ्चालन हुनेछ। यो प्रक्रिया वैशाख १२ गतेसम्म जारी रहनेछ। यस क्रममा बाह्रसिङ्गाको संख्या, बासस्थानको अवस्था, आहार स्रोत र जोखिमको मूल्याङ्कन गरिनेछ।

निकुञ्जका रेञ्जर प्रयास केसीका अनुसार हाल बाह्रसिङ्गाको अवस्था सन्तोषजनक छ। पछिल्ला वर्षहरूमा मुख्य घाँसेमैदानबाहेक अन्य क्षेत्रमा पनि बाह्रसिङ्गा देखिन थालेको बताउँदै उनले यसलाई संरक्षणका हिसाबले सकारात्मक संकेत भनेका छन्।

करिब ३४ वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटा घाँसेमैदान लाई विश्वकै ठूलो बाह्रसिङ्गा बासस्थानमध्ये एक मानिन्छ। पछिल्लो गणनामा यहाँ २ हजारभन्दा बढी बाह्रसिङ्गा भेटिएका थिए।

बाह्रसिङ्गा यस क्षेत्रको प्रमुख वन्यजन्तु हो र बाघको मुख्य आहार प्रजाति पनि मानिन्छ। पर्याप्त आहार र बासस्थानका कारण निकुञ्जमा बाघको संख्या पनि बढ्दै गएको संरक्षणकर्मीहरूले बताएका छन्।