एक सातामा देशभर विपद्का १४६ घटना, ७ जनाको मृत्यु

पालिका संचारकर्मी
७ बैशाख २०८३, सोमबार १३:५६

२०८३ वैशाख महिनाको पहिलो साता (१ देखि ६ गतेसम्म) देशभर विभिन्न प्रकारका विपद्का घटनामा परी ७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधिमा १४६ वटा विपद्का घटना दर्ता भएका छन्।

पछिल्लो ६ दिनमा हावाहुरीका कारण ३ जनाको, लेक लागेर १ जनाको, डुंगा पल्टेर १ जनाको तथा आगलागी र चट्याङका घटनामा २ जनाको मृत्यु भएको हो। यसै अवधिमा १ जना बेपत्ता भएका छन् भने ३७ जना घाइते भएका छन्। विभिन्न विपद्का घटनाबाट १४५ परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको छ।

घटनाको विवरण अनुसार वन डढेलोका २० वटा, आगलागीका १३ वटा, सर्पदंशका १२ वटा, जनावरको आक्रमणका ७ वटा, चट्याङका ४ वटा र हावाहुरीका ३ वटा घटना दर्ता भएका छन्। त्यसैगरी लेक लाग्ने, डुंगा पल्टने, भारी वर्षा र बाढीसम्बन्धी अन्य घटनासमेत गरी कुल १४६ वटा विपद्का घटना रेकर्ड गरिएको छ।

प्राधिकरणले पछिल्लो समयमा विपद्का घटना बढ्दै गएको भन्दै सतर्कता अपनाउन र जोखिम न्यूनीकरणका उपाय अपनाउन आग्रह गरेको छ।