११० मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने
पालिका संचारकर्मी
सोलुखुम्बुको दुधकोशी नदीमा ११० मेगावाट क्षमताको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ। दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ क्षेत्रमा फैलिने गरी आयोजना प्रस्ताव गरिएको हो।
आयोजनाको विद्युतगृह माप्य दुधकोशी गाउँपालिका–४ काँकुखोला र दुधकोशी नदीको सङ्गमबाट करिब ७३० मिटर माथि रहनेछ। निर्माण सम्पन्न भएपछि आयोजनाबाट वार्षिक ६१७.८६ गिगावाट घण्टा विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति हुने अपेक्षा गरिएको छ।
निर्माण चरणमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष जनशक्तिले रोजगारी पाउने बताइएको छ। विद्युत् विकास विभागले आयोजनालाई अर्ध–जलाशययुक्त प्रकृतिमा निर्माण गर्न यसअघि नै सहमति प्रदान गरिसकेको छ।
आयोजना निर्माणको जिम्मा इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले पाएको छ। यसअघि नदी प्रवाही आयोजनाका रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन तयार गरिएको भए पनि पछिल्लो निर्णयअनुसार अर्धजलाशययुक्त संरचनामा निर्माण हुने भएकाले हाल पूरक वातावरणीय प्रभाव मूल्याङ्कन तयार गर्ने प्रक्रिया अघि बढाइएको छ।
वन तथा वातावरण मन्त्रालयले पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि आवश्यक सुझाव उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
आयोजनाको ग्रस हेड २३७.९ मिटर र रेटेड नेट हेड २२२.३ मिटर रहनेछ। संरचना निर्माणका लागि २५.२८ हेक्टर सामुदायिक वन क्षेत्रबाट करिब २,४५९ वटा विभिन्न प्रजातिका रुख काट्नुपर्ने अनुमान गरिएको छ।
उत्पादित विद्युत् नयाँ खिम्ती सबस्टेशन (देवीटार, दोलखा) मा जोडिनेछ। आयोजनाको कुल लागत करिब १९ अर्ब ११ करोड रुपैयाँ रहनेछ भने प्रतिमेगावाट लागत करिब २० करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।








