नेपाल–यूएई टी–२० शृंखला आजदेखि, पहिलो खेल त्रिवि रंगशालामा

पालिका संचारकर्मी
७ बैशाख २०८३, सोमबार १३:४६

नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेल सोमबार खेल्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

यो खेल एसोसिएट क्रिकेटको ‘एल–क्लासिको’ मानिँदै आएको प्रतिस्पर्धा हो, जहाँ दुवै टोली विजयी सुरुआतको खोजीमा हुनेछन्। यसपटकको खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइट (रात्री प्रकाश) मा हुने पहिलो टी–२० शृंखला पनि हो।

नेपाल र यूएईले करिब दुई वर्षपछि फेरि त्रिवि रंगशालामा टी–२० खेल्न लागेका हुन्। यसअघि सन् २०२३ मा यी दुई टोलीले यही मैदानमा त्रिदेशीय टी–२० शृंखला खेलेका थिए।

यो खेल नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लको पहिलो घरेलु खेलसमेत हो।

नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा तीन रिजर्भ खेलाडीसहित १८ सदस्यीय टोली घोषणा गरिसकेको छ।

शृंखलाको दोस्रो खेल भोलि सोही मैदानमा हुनेछ। त्यसपछि नेपालले यूएई र ओमानसँग विश्वकप लिग–२ अन्तर्गत पनि समान दुई–दुई खेल खेल्ने तालिका रहेको छ।