केकी अधिकारीको फिल्म ‘स्टेशन’को शुभ मुहूर्त, छायांकन वैशाख तेस्रो साताबाट सुरु हुने
अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘स्टेशन’को सोमबार शुभ मुहूर्त गरिएको छ। अक्षय तृतीयाको अवसरमा ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा गरिएको मुहूर्तसँगै फिल्मको औपचारिक निर्माण प्रक्रिया सुरु भएको हो।
मुहूर्त समारोहमा केकी अधिकारी र निर्देशक सुरक्षण भारतीले क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गरेका थिए। केकीले नयाँ वर्षको अवसरमा गत मंगलबार फिल्म निर्माण घोषणा गरेकी थिइन्। घोषणासँगै सार्वजनिक गरिएको थिम पोस्टरले दर्शकमा उत्सुकता बढाएको छ। पोस्टरको कलर टोन र प्रस्तुतीकरणले क्राइम–थ्रिलर शैलीको संकेत गरेको छ।
केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने यो फिल्मको लेखन निर्देशक भारती स्वयंले गरेका हुन्। केकी र भारतीबीच यसअघि ‘बोक्सीको घर’मा पनि सहकार्य भएको थियो, जुन व्यावसायिक रूपमा सफल बनेको थियो। तर त्यसपछि उनीहरूबीच केही समय सम्बन्धमा दूरी देखिएको थियो। अब भने पुरानो तिक्तता बिर्सिएर दुवै पुनः एउटै परियोजनामा जोडिएका हुन्।
फिल्मका निर्माता बद्री अधिकारी रहेका छन्, जो केकीका बुबा पनि हुन्। उनले यसअघि ‘इन्द्रावती’, ‘लडाइँ’, ‘चक्रव्यूह’, ‘आवाज’ र ‘ज्यान हाजिर छ’ जस्ता फिल्म निर्देशन गरेका थिए। साथै, उनको निर्देशनमा बनेको टेलिशृंखला ‘अविरल बग्दछ इन्द्रावती’ पनि लोकप्रिय भएको थियो।
निर्माण टोलीका अनुसार फिल्मको छायांकन वैशाख तेस्रो साताबाट सुरु गरिने तयारी गरिएको छ।

पालिका संचारकर्मी 






