छिमेकीबीचको विवाद उग्र, धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु
उदयपुरको चौदण्डीगढी नगरपालिकामा छिमेकीबीचको सामान्य विवाद उग्र बन्दै जाँदा एक जनाको ज्यान गएको छ। आइतबार साँझ वडा नं. ७ सीता पाइला टोलमा ७३ वर्षीय वृद्धले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय छिमेकीको मृत्यु भएको हो।
प्रहरीका अनुसार स्थानीय रामप्रसाद राई र माहाशेर राईबीच साँझ करिब सवा ८ बजे छरछिमेक सम्बन्धी विषयमा विवाद भएको थियो। विवादका क्रममा आवेगमा आएका रामप्रसादले माहाशेरमाथि धारिलो हतियार प्रहार गरेका थिए। प्रहारबाट माहाशेरको छातीको दायाँपट्टि माथिल्लो भागमा गहिरो चोट लागेको थियो।
गम्भीर घाइते भएका माहाशेरलाई तत्काल उपचारका लागि बेल्टारस्थित नगर अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको थियो।
घटनामा संलग्न रामप्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बूको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

पालिका संचारकर्मी 






