कैलाश–२ बैकुण्ठमा घाँटुनाच मेला हुँदै

पालिका संचारकर्मी
७ बैशाख २०८३, सोमबार १२:२३

मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठमा यस वर्ष पनि ऐतिहासिक घाँटुनाच मेला आयोजना हुने भएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा बैशाख १९ र २० गते सञ्चालन हुने मेलाले स्थानीय संस्कृति संरक्षणमा विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ।

मेलाको मुख्य आकर्षणका रूपमा घाँसे गीत तथा तामाङ समुदायको फापरे सेलो ह्वाई प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुकले समयमै नाम दर्ता गराउन आयोजकले आह्वान गरेको छ।

दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

कार्यक्रम बैशाख १९ गते बिहान ९ बजेदेखि बैकुण्ठ खेलमैदानमा सुरु हुनेछ। वडाअध्यक्ष राजेन्द्र घिसिङका अनुसार मेलाले स्थानीय मौलिक परम्परा जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।

मेलाको सम्पूर्ण व्यवस्थापन मेला तथा कार्यक्रम व्यवस्थापन समितिले गर्नेछ भने आयोजकले सबै स्थानीयबासी तथा दर्शकलाई उपस्थित भई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।