स्वास्थ्य मन्त्रालयमा उच्च तहका अधिकारी हेरफेर, तीन महाशाखामा नयाँ नेतृत्व तयारी

पालिका संचारकर्मी
३ बैशाख २०८३, बिहीबार १५:३७

काठमाडौंस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले एघारौँ तहका वरिष्ठ अधिकृतहरूको व्यापक सरुवा, पदस्थापन तथा काज फिर्ता गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहता ले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका तीन महत्त्वपूर्ण महाशाखामा नेतृत्व हेरफेर गरेकी हुन्।

नयाँ व्यवस्थाअनुसार यशोदा अर्याल, डा. रोशन न्यौपानेडा. गुणनिधि शर्मा लाई मन्त्रालयमा ल्याइएको छ। यद्यपि, उनीहरूलाई कुन महाशाखाको जिम्मेवारी दिने भन्ने विषयमा औपचारिक निर्णय हुन बाँकी रहेको मन्त्रालय स्रोतले जनाएको छ।

अनौपचारिक तयारीअनुसार डा. शर्मालाई नीति योजना, अर्याललाई समन्वय र डा. न्यौपानेलाई गुणस्तर महाशाखाको जिम्मेवारी दिने योजना रहेको बताइएको छ। उनीहरूको सेवा समूहसमेत मिल्ने भएकाले सोही आधारमा पदस्थापन गर्ने तयारी गरिएको छ।

सरुवासँगै मन्त्रालयमा कार्यरत केही वरिष्ठ चिकित्सकहरूलाई विभिन्न स्वास्थ्य संस्थामा काज फिर्ता गरिएको छ। डा. चुमनलाल दास लाई नारायणी अस्पताल पर्सा, डा. भीम सापकोटा लाई हेटौँडास्थित किटजन्य प्रयोगशाला र डा. सरोज शर्मा लाई वीर अस्पताल मा काज फिर्ता गरिएको छ।

त्यसैगरी डा. कृष्णप्रसाद पौडेल लाई स्वास्थ्य बीमा बोर्ड बाट काज फिर्ता गरी गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ। तर हाल उनी बोर्डको कार्यकारी प्रमुखको भूमिकामा रहेकाले तत्कालका लागि सोही जिम्मेवारीमा रहने व्यवस्था गरिएको छ।

मन्त्रालयले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो पुनर्संरचना गरेको बताइएको छ।