अनमोल केसीको ‘कमब्याक’ वर्ष: हिट फिल्मपछि व्यस्तता चरममा

पालिका संचारकर्मी
३ बैशाख २०८३, बिहीबार १५:३४

नेपाली चलचित्र क्षेत्रमा अभिनेता अनमोल केसी का लागि २०८२ विशेष उपलब्धिमूलक वर्ष बनेको छ। गत असोजमा प्रदर्शन भएको जेरी अन टप ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गर्दै उनको करिअरलाई नयाँ उचाइमा पुर्‍याएको छ।

करिब साढे १२ करोड रुपैयाँको व्यापार गरेको यस फिल्मले अनमोलको स्टारडमलाई पुनः स्थापित मात्र गरेन, उनको अभिनय क्षमतामाथि उठ्ने आलोचनालाई पनि धेरै हदसम्म कम गराएको छ।

फिल्मको सफलतापछि अहिले अनमोलको माग फेरि चुलिएको छ। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको नयाँ फिल्म लाइनअपले उनको व्यस्तता स्पष्ट देखाउँछ। उनले चार ठूला परियोजनामा काम गर्ने भएका छन्, जसमा बाटुलो जून, ए मेरो हजुर ५, बिफोर वी मेटजेरी: द लास्ट क्लाइम्ब समावेश छन्।

हाल बाटुलो जून को छायांकन अन्तिम चरणमा पुगेको छ भने त्यसपछि उनी ए मेरो हजुर ५ मा जुट्नेछन्। दशैंपछि बिफोर वी मेट र वर्षको अन्त्यतिर जेरी: द लास्ट क्लाइम्ब मा काम गर्ने तालिका छ।

यसरी हेर्दा, अनमोलको यो वर्षको कार्यतालिका पूर्ण रूपमा ‘प्याक’ भइसकेको छ। स्रोतका अनुसार उनले ‘बाटुलो जून’ बाहेक अन्य तीन फिल्मबाट ५० लाखभन्दा बढी पारिश्रमिक लिएका छन्, जसबाट मात्र डेढ करोडभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ।

‘जेरी अन टप’पछि आएको यो व्यस्तता र आर्थिक सफलता अनमोलका लागि पुनरुत्थानको संकेतका रूपमा हेरिएको छ।