रास्वपाद्वारा संसदीय समिति सभापति उम्मेदवार घोषणा, लेखा समिति कांग्रेसलाई दिने निर्णय

पालिका संचारकर्मी
३ बैशाख २०८३, बिहीबार १५:१९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाअन्तर्गतका विभिन्न संसदीय समितिहरूका सभापतिका लागि आफ्ना उम्मेदवारहरू टुंगो लगाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले दुई संयुक्तसहित १० वटा समितिका नेतृत्वका लागि नाम चयन गरेको हो।

निर्णयअनुसार कानून, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा, कृषि तथा प्राकृतिक स्रोत क्षेत्रमा अशोककुमार चौधरी र पूर्वाधार विकास समितिमा आशिष गजुरेललाई अघि सारिएको छ। त्यस्तै महिला तथा सामाजिक मामिलामा आकृति अवस्थी र राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाललाई उम्मेदवार बनाइएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेतृत्वका लागि ओजश्वी शेरचन चयन हुँदा संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठलाई प्रस्ताव गरिएको छ। उद्योग, वाणिज्य तथा श्रम क्षेत्रमा रहबर अन्सारी, नीति तथा कार्यक्रम कार्यान्वयन अनुगमन समितिमा गणेश कार्की, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटनमा सुम्नीमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकीलाई जिम्मेवारी दिने तयारी गरिएको छ।

यसैबीच रास्वपाले सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ। संसदीय अभ्यासअनुसार लेखा समितिको नेतृत्व प्रतिपक्षले गर्ने परम्परालाई सम्मान गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।

उता, लेखा समिति सभापतिमा कांग्रेसलाई नेकपा एमाले र नेकपाको समेत समर्थन रहने सहमति भएको छ। समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुने र भोलि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।