‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु: जनचेतना बढाउन देशैभरका स्थानीय तह सक्रिय
आजदेखि देशभरका ७५३ वटै स्थानीय तहमा ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु भएको छ। नागरिकलाई व्यक्तिगत घटना दर्ताको महत्त्वबारे जानकारी गराउने उद्देश्यसहित विभिन्न कार्यक्रम आयोजना गरिँदै छन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पहलमा सञ्चालन भइरहेको यो अभियानले जन्म, मृत्यु, विवाह, बसाइँसराइ जस्ता व्यक्तिगत घटनाको समयमै दर्ता गराउन जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
व्यक्तिगत घटना दर्ता नागरिकको कानुनी पहिचान सुनिश्चित गर्ने आधार मात्रै होइन, राज्यबाट उपलब्ध हुने सेवा तथा सुविधामा पहुँच पुर्याउने महत्वपूर्ण माध्यम पनि हो। यही महत्वलाई ध्यानमा राख्दै स्थानीय तहहरूले विद्यालय, सामुदायिक संस्था तथा अन्य सरोकारवालासँग सहकार्य गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्।
विभागले यसअघि नै परिपत्र जारी गर्दै सबै स्थानीय तहलाई सप्ताहभर विभिन्न कार्यक्रम आयोजना गर्न आग्रह गरेको थियो। सोही अनुरूप देशभर जनचेतना फैलाउने अभियानलाई व्यापक बनाइँदै छ।
यस अभियानले नागरिकलाई आफ्नो अधिकार र दायित्वबारे थप सचेत बनाउँदै दर्ता प्रणालीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

पालिका संचारकर्मी 







