चैत्र २६ देखि हेटौँडामा विश्वशान्ति महा बोधि कार्यक्रम सुरु हुने
हेटौँडा — बागमती प्रदेशको राजधानी हेटौँडामा ४ दिने “२१ औँ विश्वशान्ति महा मैत्री बोधि मार्ग दर्शन तथा मैत्री धर्म आध्यात्मिक अनुष्ठान” कार्यक्रम आयोजना हुने भएको छ। बोधी श्रवण धर्म संघ नेपालको आयोजनामा हुने उक्त कार्यक्रम आगामी चैत्र २६ गतेदेखि सुरु हुने जनाइएको छ।
आयोजकका अनुसार कार्यक्रममा ‘लिटल बुद्ध’ भनेर परिचित चर्चित धर्मगुरु मैत्रिनाथको विशेष उपस्थिति रहनेछ। कार्यक्रममा ध्यान, आध्यात्मिक प्रवचन, शान्ति पाठ तथा विभिन्न धार्मिक अनुष्ठानहरू सञ्चालन गरिनेछन्, जसले सहभागीहरूलाई मानसिक शान्ति र आध्यात्मिक ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।
कार्यक्रम हेटौँडा–४ स्थित हुप्र चौरमा आयोजना हुने तय भएको छ। आयोजकले देशभरका श्रद्धालु, धर्मप्रेमी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई अवलोकन गर्न हार्दिक अनुरोध गरेका छन्।
विश्वशान्ति, सद्भाव र आध्यात्मिक जागरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय मात्र नभई राष्ट्रिय स्तरमै सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ।

पालिका संचारकर्मी 







