भोजपुरमा ७ करोडको आधुनिक भवन सञ्चालनमा

पालिका संचारकर्मी
९ चैत्र २०८२, सोमबार २१:५०

भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। सोमबार आयोजित एक औपचारिक कार्यक्रममा ३४ कोठे आधुनिक भवन सञ्चालनमा ल्याइएको हो।

चारतले उक्त भवन लिफ्टसहित निर्माण गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार भ्याटसहित करिब ७ करोड ८७ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरिएको हो। विसं २०८० साल मङ्सिरबाट सुरु भएको निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न भएको जनाइएको छ।

लिफ्टसहितको संरचना निर्माण गरिएकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सेवाग्राहीलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरिएको बताए।

उनले यसअघि आफ्नै भवन नहुँदा पुरानो स्वास्थ्यचौकी र भाडाका संरचनाबाट सेवा सञ्चालन गर्नुपरेको उल्लेख गर्दै अब एउटै व्यवस्थित भवनबाट सेवा प्रवाह गर्न सकिने जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष सुनिता किरातीका अनुसार उक्त भवन केन्द्रीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो।