एसइईमा नक्कली परीक्षार्थी पक्राउ, अर्काको नाममा परीक्षा दिन खोज्दा फन्दामा
मकवानपुरमा माध्यमिक शिक्षा परीक्षा (एसइई)का क्रममा अर्काको नाममा परीक्षा दिन आएका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
शुक्रबार बिहान करिब ८ बजे हेटौँडा–१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रहरीले ती युवालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका–४ स्थायी घर भएका तथा हाल हेटौँडा–४ स्थित हेटौँडा स्कुल अफ मेनेजमेन्टमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय बिराज विक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विकले अर्काको नामको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन प्रयास गरेका थिए। थप अनुसन्धानका क्रममा उनले हेटौँडा–१२ पदमपोखरी निवासी १९ वर्षीय अंकिश श्रेष्ठको प्रवेशपत्र प्रयोग गरेको खुल्न आएको छ।
घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पालिका संचारकर्मी 







