थाहा नगरपालिका टौखेलमा १२१ किलो चरेस बरामद, अटो चालकसहित दुई पक्राउ
मकवानपुरको थाहा नगरपालिका–१० टौखेल क्षेत्रमा प्रहरीले ठूलो परिमाणको चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार साँझ करिब ४ः५० बजे टौखेलबाट मार्खुतर्फ जाँदै गरेको बा.प्र.०३००१ ह १५०७ नम्बरको अटो चेकजाँचका क्रममा अटोभित्र लुकाइछिपाइ राखिएको १२ वटा रबरको डिब्बाबाट १२१ किलो चरेस बरामद गरिएको हो।
पक्राउ पर्नेमा अटो चालक थाहा नगरपालिका–४ रुप्से निवासी २९ वर्षीय घनश्याम बल तामाङ र अटोमा सवार कैलाश गाउँपालिका–५ का २१ वर्षीय सानुकान्छा थिङ रहेका छन्।
बरामद चरेससहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिलाई अदालतमा पेश गरिएको र जिल्ला अदालत मकवानपुरले थप अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्ने अनुमति दिएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

पालिका संचारकर्मी 






