इन्द्रसरोवर सिमखोलामा बोलेरो पिकअप दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ अन्तर्गत सिमखोला पुल नजिक भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको बोलेरो पिकअप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
सर्लाहीबाट काठमाडौँतर्फ कुखुरा बोकेर गइरहेको म.प्र.०३–००१ च ६७२१ नम्बरको बोलेरो पिकअप गाडी आज बिहान करिब १ बजे ब्रेक फेल भई अनियन्त्रित अवस्थामा सडकबाट करिब ५ देखि ७ मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनाको सूचना पाउनासाथ प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोज चौधरीको नेतृत्वमा ट्राफिक प्रहरीसहित तीन जनाको टोली घटनास्थलमा खटिएको थियो। टोली करिब १ः३० बजे घटनास्थलमा पुगेर उद्धार कार्य गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सवार तीन जनामध्ये सहचालक सर्लाही वरथवा नगरपालिका–१ का करिब १७ वर्षीय रोहन मण्डल गम्भीर घाइते भएका थिए। उनको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। अर्का सहचालक सोही स्थानका १६ वर्षीय छोटे पासवानको कम्मरमा चोट लागेको छ भने चालक २५ वर्षीय रामवली साह सामान्य घाइते भएका छन्।
घाइते तीनै जनालाई तत्काल एम्बुलेन्समार्फत् काठमाडौँ पठाइएकोमा गम्भीर घाइते रोहन मण्डलको उपचारका क्रममा आज बिहान ४ः४५ बजे काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा बोलेरो गाडीमा लोड गरिएका करिब ५०० कुखुरामध्ये करिब ३०० वटा मरेका छन्। गाडीमा पनि क्षति पुगेको छ र हाल दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

पालिका संचारकर्मी 







