मकवानपुरमा तीनवटा सवारी ठोक्किँदा ३१ जना घाइते

पालिका संचारकर्मी
६ आश्विन २०८२, सोमबार १६:२२

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार दिउँसो भएको ३ वटा सवारी दुर्घटनामा ३१ जना घाइते भएका छन् । चितवनबाट बिरगन्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको टायर पड्किँदा बस अनियन्त्रित भई हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको थियो । त्यसपछि सो ट्रक समेत अनियन्त्रित भई काठमाडौँबाट बारा तर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करमा ठोक्किँदा दुर्घटना भएको हो । घटनामा परेर घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था सामान्य र मध्यम रहेको छ । सबै घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उद्धार कार्यसँगै सवारीसाधन हटाउने काम गरिरहेको छ ।