हेटौंडासहित ५ ठाउँबाट लाइसेन्स छापेर वितरण गर्ने तयारीमा बागमती सरकार

हेटौंडा। बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ स्थानबाट लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको हो । केन्द्र सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८० माघ ७ गते प्रदेशहरूले पनि लाइसेन्स छाप्न सक्ने निर्णय गरेअनुसार बागमती प्रदेशले सेवा सञ्चालन गर्न लागेको हो । प्रदेशबाटै ‘क्यूआर कोड’ सहितको लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको मन्त्रालयले जनाएको छ । लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य गर्ने उद्देश्यले प्रदेशका ५ स्थानबाट सेवा दिने तयारी भइरहेको मन्त्रालयकी प्रवक्ता सुनिता गजुरेलले बताइन् ।
श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाका अनुसार प्रतिघण्टा ७ सय ५० लाइसेन्स छाप्नसक्ने क्षमता भएका पाँचवटा अत्याधुनिक प्रिन्टर मेसिन खरिद भइसकेको छ । मन्त्री थापाका अनुसार खरिद गरिएको प्रत्येक प्रिन्टरको क्षमता प्रतिघण्टा १ सय ५० वटा छ । पाँचवटा मेसिनमार्फत दैनिकरुपमा ठुलो संख्यामा लाइसेन्स छापेर वितरण गर्न सकिने र यसबाट लामो समयदेखि लाइसेन्स पर्खिरहेका सेवाग्राही लाभान्वित हुने विश्वास गरिएको छ । खरिद गरिएका ५ मेसिन लाइसेन्स सेवा सञ्चालन भइरहेका यातायात कार्यालयहरू काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौंडामा जडान गरिने बताइएको छ । यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार करिब ३० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ । विगत तीन वर्षअघि ट्रायल पास गरेका र नवीकरणका लागि निवेदन दिएका सेवाग्राहीले पनि लाइसेन्स पाउन सकेका छैनन् ।