बागमती सरकारको प्रवक्ताको जिम्मेवारी तामाङलाई, विपद् व्यवस्थापनमा उच्चस्तरीय संयन्त्र गठनको निर्णय

पालिका संचारकर्मी
२२ श्रावण २०८२, बुधबार १०:१५

हेटौंडा। बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलाई दिइएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको नवगठित सरकारले मंगलबार पहिलो मन्त्रिपरिषद् बैठक गर्दै मन्त्री तामाङलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकले हालको मौसमजन्य प्राकृतिक विपत्तिको जोखिमलाई दृष्टिगत गर्दै तत्कालीन उद्धार, राहत तथा प्रतिकार्यका लागि समन्वित पहल अघि बढाउने निर्णयसमेत गरेको छ। मन्त्री तामाङका अनुसार उच्चस्तरीय एकीकृत संयन्त्र निर्माण गरिनेछ, जसको संयोजक आन्तरिक मामिला तथा कानुन मन्त्री रहनेछन् भने विभिन्न प्रशासनिक निकायका प्रमुख सदस्य रहनेछन्। उक्त संयन्त्रलाई सधैं तत्काल प्रतिक्रिया दिन सक्ने तयारी अवस्थामा राखिने र आवश्यक सामग्रीहरू अग्रिमरूपमै उपलब्ध गराइनेछ।

बैठकले बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपबाट वासस्थान गुमाएका नागरिकहरूका लागि अस्थायी बसोबासको व्यवस्था गर्न प्रदेश सरकार अग्रसर हुने निर्णय गरेको छ। साथै, विपत्तिबाट क्षतिग्रस्त भएका सडकहरूलाई संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा तत्काल मर्मत गरी सवारी सञ्चालनको अवस्था कायम गरिनेछ। प्रदेशसभाबाट पारित सङ्कल्प प्रस्तावहरू कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरूलाई स्पष्ट निर्देशन दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ। त्यस्तै, प्रदेशभित्र रहेका अति विपन्न तथा सीमान्तकृत समुदाय, विशेष गरी वनकरी वर्गको उचित वासस्थान व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्ने नीति लिइनेछ।

मुख्यमन्त्री बानियाँले आफ्नो मासिक पारिश्रमिकबाट आफ्नो निर्वाचन क्षेत्रभित्रका एक अति सीमान्तकृत परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने घोषणा गरेका छन्।त्यस्तै, बैठकले आर्थिक कारणले स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउने निर्णयसमेत गरेको छ। यसका लागि निश्चित मापदण्ड निर्धारण गरिने र छात्रवृत्ति वितरण पारदर्शी ढंगले हुनेछ। नयाँ सरकारको पहिलो बैठकले विपद् व्यवस्थापन, सामाजिक सुरक्षा, शिक्षा तथा पूर्वाधारमा देखाएको चासो र प्राथमिकता प्रदेश सरकारले जनउत्तरदायी शासन प्रणालीतर्फ अघि बढ्ने संकेतका रूपमा लिइएको छ।