बागमतीको नयाँ नेतृत्वस् इन्द्रबहादुर बानियाँ छैठौं मुख्यमन्त्री नियुक्त
हेटौंडा । बागमती प्रदेशको छैठौं मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बानियाँ ११० सदस्यीय प्रदेश सभामा कांग्रेस र नेकपा एमाले गठबन्धनको समर्थनमा ६४ सांसदको बहुमतका आधारमा सरकार प्रमुख बनेका हुन्। मकवानपुर घर भएका बानियाँ कांग्रेस बागमती प्रदेश समिति सभापति समेत हुन्। उनी डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा पछि बागमतीको नेतृत्व सम्हाल्ने छैठौं व्यक्ति हुन्। मकवानपुरबाट यो जिम्मेवारी पाउने उनी दोस्रो व्यक्ति हुन्। यसअघि बागमतीका पहिलो मुख्यमन्त्री डोरमणि पौडेल पनि मकवानपुरबासी थिए।
बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज सपथ ग्रहण गरेसँगै नेकपा एमालेका तर्फबाट मन्त्री बन्ने व्यक्तिहरूको नाम प्रायः टुंगिएको छ। एमालेका अधिकांश मन्त्रीहरू आजै नियुक्त भई सपथ लिने कार्यक्रम तय भएको स्रोतले जनाएको छ। एमालेबाट यसअघिको सरकारमा समेत संलग्न एक जना मन्त्री भने पुनः दोहोरिने भएका छन्, भने अन्य पाँच जना नयाँ अनुहार हुने निश्चितजस्तै छ। दोहोरिने मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापा मगर हुन्।
एमालेका तर्फबाट सम्भावित मन्त्रीहरूको विवरण यसप्रकार छः
किरण थापा मगर – स्वास्थ्य मन्त्री (पुनः नियुक्त)
जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्री (काठमाडौँ)
भरतबहादुर केसी – वन तथा वातावरण मन्त्री (दोलखा)
मधुसुधन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्री (ललितपुर)
डा। दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्री (काठमाडौँ)
बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री (काठमाडौँ)
आज दिउँसोसम्म कुनै फेरबदल नभए यी नामहरू अन्तिम हुने र उनीहरूले आजै सपथ लिने तयारी गरिएको एमाले स्रोतले जनाएको छ। यता, सत्ता साझेदार नेपाली कांग्रेसबाट भने प्रारम्भिक चरणमा दुई जना मात्र मन्त्री नियुक्त हुने सम्भावना रहेको बुझिएको छ।

पालिका संचारकर्मी 






