बागमती प्रदेशका मुख्यमन्त्रीले राजिनामा नदिएपछी चार जना मन्त्रीले दिए राजीनामा, संसदीय दलको नेताबाट हटाउने तयारी

पालिका संचारकर्मी
१० श्रावण २०८२, शुक्रबार १५:५१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सहज रुपमा राजिनामा नदिएपछी प्रदेशका चार जना मन्त्रीहरूले आज राजीनामा दिएका छन् । प्रदेशमा मुख्यमन्त्रीका रुपमा नेपाली कांग्रेसका दुइ जना नेताका विचमा आलोपालो मुख्यमन्त्री बन्ने सहमती भएपनि त्यसको कार्यान्वयनमा सहज रुपमा मुख्यमन्त्री लामाले राजिनामा नदिएपछी आज चार जना मन्त्रीहरुले राजिनामा बुझाएका हुन् । आजै कांग्रेस संसदीय दलको नेताबाट लामालाई हटाउनका लागि अविस्वासको प्रस्ताब संसदीय दलमा दर्ता गराउने तयारी गरिएको नेपाली कांग्रेसका एक जना सांसदले जानकारी दिए । संसदीय दलको नेताबाट हटाएर मुख्यमन्त्री पनि हटाउने तयारी गरिएको हो ।

आज युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् । राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

स्रोतका अनुसार, मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता हुँदैछ । जसको ड्राफ्ट तयार भइसकेको छ । यता बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशमा मुख्यमन्त्री आफ्नो स्वास्थ्यमा गम्भीर समस्या आउनु वा मृत्यु भएमा मात्र आफू पदबाट हट्ने र मुख्यमन्त्री परिवर्तन हुने बताएपछी आक्रोसीत भएका नेपाली कांग्रेसका असन्तुष्ट सांसद र मन्त्रीहरुले उहाँलाई जसरी पनि हटाउने तयारी अनुसार चार जना मन्त्रीले राजिनामा दिएका हुन् ।