बागमती प्रदेश लिग फुटबल पुस १० गतेबाट

पालिका संचारकर्मी
२ पुष २०८१, मंगलवार १६:०२

मकवानपुर । बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेबाट हुने भएको छ । बागमती प्रदेश फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालमा दोस्रो संस्करणको प्रदेश लिग फुटबल प्रतियोगिता हुने भएको हो । मंगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरीले प्रतियोगिताको बारेमा जानकारी दिनुभयो ।

प्रतियोगितामा बागमती प्रदेशका ११ वटा जिल्लाको सहभागिता रहने महासचिव ठकुरीले बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं र काभ्रेपलाञ्चोक बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा मकवानपुरको पदमपोखरी युथ क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पलाईन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिवासी युवा समाज, नुवाकोट बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बिएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लब सहभागी हुनेछ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० को वार्षिक कार्यक्रम अनुसार प्रदेश फुटबल संघको आयोजनामा सञ्चालन हुन लागेको प्रदेश लिग फुटबल प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) प्रमुख सहयोग र हेटौँडा उपमहानगरपालिका तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को पनि सहयोग रहने महासचिव ठकुरीले बताउनुभयो । ११ जिल्लामा भएको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमहरुको प्रतियोगिता सहभागिता रहने उहाँले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता आयोजनाका लागि करिब ३१ लाख रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा, एन्फाका केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, प्रदेश फुटबल संघका कार्यवहाक अध्यक्ष राजिव बस्नेत, जिल्लाका उपाध्यक्ष युवराज लामा, महासचिव छवी सुवेदी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको उपस्थिति रहेको थियो ।