चन्द्रोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा मैनाली चयन

पालिका संचारकर्मी
१५ चैत्र २०७९, बुधबार १२:१०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं.८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा ईवाकर मैनाली सर्वसम्मत चयन हुनुभएको छ । आज (बुधबार ) बिहान बसेको व्यवस्थापन समितिको बैठकले मैनाली सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । गत माघ २८ गते नै अभिभावक भेला सम्पन्न भएको चन्द्रोदयमा व्यवस्थापन समिति गठन भने हुन सकिरहेको थिएन ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिको सदस्यमा कृष्ण प्रसाद अर्जेल,राम प्रसाद देवकोटा,ज्योती के.सी,रीता श्रेष्ठ र दुर्गा अधिकारीलाई चयन गरिएको छ । वडा अध्यक्ष रामकृष्ण थापाको उपस्थितिमा व्यवस्थापन समिति गठनको प्रक्रिया सम्पन्न भएको हो । वडा अध्यक्ष थापा वडा प्रतिनिधिको रुपमा विद्यालय व्यवस्थापन समितिको सदस्यको रुपमा रहनुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत रामचन्द्र खड्का विद्यालय व्यवस्थापन समिति गठन सहयोग समितिको संयोजकको रुपमा खटिनुभएको थियो । चन्द्रोदय माविमा एक हजार ५० विद्यार्थी अध्ययनरत छन् । कक्षा १२ सम्म पठनपाठन हुने चन्द्रोदय माविको व्यवस्थापन समितिले पुर्णता पाएको छ ।