बागमती प्रदेशमा २३१ किमी सडक कालोपत्रे, ४४ पुल निर्माण

पालिका संचारकर्मी
७ श्रावण २०८३, बिहीबार ११:४३

बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा भौतिक पूर्वाधार विकासतर्फ उल्लेख्य प्रगति गरेको जनाएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत गत आर्थिक वर्षमा ४४ वटा सडक पुल निर्माण सम्पन्न भएका छन्।

मन्त्रालयका प्रवक्ता मदनकुमार आले मगरका अनुसार मन्त्रालयअन्तर्गत विनियोजित कुल बजेटमध्ये ६३.४० प्रतिशत रकम खर्च भएको छ।

गत आर्थिक वर्षमा प्रदेशभर १३६.६६ किलोमिटर ग्राभेल सडक स्तरोन्नति तथा २३१.३१ किलोमिटर कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ। यस्तै, ६ वटा झोलुङ्गे पुल, १७ वटा सरकारी भवन, १०२ वटा सामुदायिक भवन र विभिन्न कार्यक्रममार्फत ९४० वटा आवास निर्माण सम्पन्न भएका छन्। यस अवधिमा १७ वटा उद्यान समेत निर्माण सम्पन्न भएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार निर्माणमा समस्या देखिएका ४१ वटा रुग्ण आयोजनामध्ये सातवटा आयोजना सम्पन्न भइसकेका छन्। त्यस्तै, २३ वटा आयोजनाको निर्माण कार्य सुचारु गरी कामलाई तीव्रता दिइएको छ।

बाँकी ११ वटा आयोजनाको निर्माण कार्य सुचारु गर्न आवश्यक समन्वय भइरहेको तथा चारवटा आयोजनामा ढिलाइका कारण हर्जाना लगाई कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।