वित्तीय ग्राहकको सन्तुष्टि मापन गर्न राष्ट्र बैंकको देशव्यापी सर्वेक्षण, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने
नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टि मापन गर्न देशव्यापी ग्राहक सन्तुष्टि सर्वेक्षण सञ्चालन गर्ने भएको छ।
राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मूल्याङ्कन गर्ने उद्देश्यले देशका सबै जिल्लाका सबै प्रकारका स्थानीय तह समेट्ने गरी ‘र्यान्डम स्याम्पलिङ’ विधिबाट वडा छनोट गरी १० हजार ४०५ नमुना सङ्कलन गरिने जनाएको छ।
सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवा गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकको धारणा र अनुभवबारे जानकारी सङ्कलन गरिनेछ।
राष्ट्र बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षणलाई थप प्रभावकारी बनाउने, वित्तीय सेवाको गुणस्तर सुधार गर्ने तथा सम्बन्धित नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा आवश्यक परिमार्जन गर्न आधार प्रदान गर्नेछ।
सर्वेक्षणलाई प्रभावकारी, विश्वसनीय र यथार्थपरक बनाउन तथ्याङ्क सङ्कलनका क्रममा निष्पक्ष र सही जानकारी उपलब्ध गराई सहयोग गर्न राष्ट्र बैंकले सम्बन्धित निकाय तथा सरोकारवालासँग आग्रह गरेको छ।

पालिका संचारकर्मी 







