बागमतीमा बर्ड फ्लू फैलिँदै, २ लाख ८ हजारभन्दा बढी कुखुरा नष्ट
हेटौंडा । बागमती प्रदेशका पाँच जिल्लामा बर्ड फ्लू संक्रमण तीव्र रूपमा फैलिँदा दुई लाखभन्दा बढी पन्छी नष्ट गरिएको छ। संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कुखुरा, अण्डा र दाना नष्ट गर्ने कार्य जारी रहेको प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र काभ्रेपलाञ्चोकमा संक्रमण पुष्टि भएको छ। गत चैत ११ यता यी जिल्लामा २ लाख ८ हजार २५२ पन्छी, ५ लाख ५ वटा अण्डा तथा ८८ हजार ६ सय केजी दाना नष्ट गरिएको छ।
निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. सन्तोष घिमिरेका अनुसार सबैभन्दा बढी क्षति चितवनमा भएको छ। खैरहनी नगरपालिका–१ मा ३८ हजार २ सय कुखुरा, २ लाख ९५ हजार ५० वटा अण्डा र १२ हजार केजी दाना नष्ट गरिएको छ। यस्तै भरतपुर महानगरपालिका–४ मा रहेको एक फार्मबाट १८ हजार ८६३ कुखुरा, ५५ हजार ४४० अण्डा र १३ हजार ५० केजी दाना नष्ट गरिएको उनले बताए।
काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकाका विभिन्न वडामा पनि संक्रमण पुष्टि भएको छ। बनेपा–६ मा ५ हजार २१ कुखुरा र १ हजार ५ सय अण्डा, बनेपा–१३ मा १ हजार ४५७ कुखुरा, २ हजार ८ सय अण्डा र १ हजार २५० केजी दाना नष्ट गरिएको छ। पनौती–९ मा ९ हजार ३९१ कुखुरा, ५ सय अण्डा र ५ सय केजी दाना तथा पनौती–७ मा २७९ कुखुरा, १६ अण्डा र ५० केजी दाना नष्ट गरिएको निर्देशनालयले जनाएको छ।
काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्रै १ लाख ३५ हजार ४१ कुखुरा, १ लाख ४४ हजार ७४४ अण्डा र ६१ हजार ७५० केजी दाना नष्ट गरिएको तथ्यांक छ।
डा. घिमिरेका अनुसार प्रदेशका अन्य जिल्लामा संक्रमण नदेखिए पनि प्रभावित पाँच जिल्लामा अवस्था अझै नियन्त्रणमा आउन सकेको छैन। हरेक दिन फरक–फरक व्यावसायिक फार्ममा संक्रमण पुष्टि भइरहेको भन्दै उनले सतर्कता अपनाउन आग्रह गरे।
हाल प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र सम्बन्धित जिल्लाका पशु सेवा कार्यालयले संक्रमित क्षेत्रका पन्छी नष्ट गर्ने, क्षतिको विवरण संकलन गर्ने तथा संक्रमण फैलिन नदिन जैविक सुरक्षा (बायो–सिक्युरिटी)का उपाय कडाइका साथ लागू गरिरहेका छन्।

पालिका संचारकर्मी 







