मकवानपुरका सामुदायिक वनमा सालक संरक्षण अभियान तीव्र, दुर्लभ वन्यजन्तुको सुरक्षित बासस्थान निर्माणमा जोड

पालिका संचारकर्मी
४ असार २०८३, बिहीबार १५:४२

मकवानपुर, असार ४ । विश्वकै दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुमध्ये एक मानिने सालकको संरक्षणमा मकवानपुरका सामुदायिक वन उपभोक्ता समूहहरू सक्रिय बनेका छन्। वन क्षेत्रमै सुरक्षित बासस्थान निर्माण, जनचेतना अभिवृद्धि र उद्धार गरिएका सालकको संरक्षणमार्फत जिल्लामा सालक जोगाउने अभियान विस्तार हुँदै गएको छ।

हेटौँडा उपमहानगरपालिका–६ स्थित रानी सामुदायिक वन उपभोक्ता समूहले २०६२ सालदेखि सालक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। वन उपभोक्ता समूहका अध्यक्ष भीमसेन पौडेलका अनुसार करिब १३४ हेक्टर क्षेत्रफल रहेको वन क्षेत्रमा हाल पाँच दर्जनभन्दा बढी सालक रहेको अनुमान गरिएको छ।

समूहले विद्यालयस्तरीय सचेतना अभियान, बासस्थान संरक्षण, कानुनी जानकारी प्रवाह, सूचना बोर्ड स्थापना तथा सालकका प्रतिमा निर्माणजस्ता गतिविधि सञ्चालन गर्दै आएको छ। अन्य स्थानमा फेला परेका सालकलाई समेत रानी सामुदायिक वनमा ल्याएर संरक्षण गर्ने अभ्यासलाई निरन्तरता दिइएको छ।

अध्यक्ष पौडेलका अनुसार सालक किसानको साथीका रूपमा चिनिन्छ। यसले धमिरा र कमिलालगायतका किरा खाएर वन तथा कृषि प्रणालीलाई सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

यता, हेटौँडा–१७ स्थित चुच्चे खोला सामुदायिक वनले पनि सालक संरक्षणलाई विशेष अभियानकै रूपमा अघि बढाएको छ। वन उपभोक्ता समूहका अध्यक्ष केदार गौतमका अनुसार २३८ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको वनमा हाल दुई सयभन्दा बढी सालक रहेको अनुमान छ।

२०७६ सालदेखि औपचारिक रूपमा संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको उक्त वन क्षेत्रमा हालसम्म २५ वटा सालक उद्धार गरी संरक्षण गरिएको छ। यहाँ विश्वमै दुर्लभ मानिने कालो सालक र तामे सालक समेत पाइने गरेको जनाइएको छ।

डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशीका अनुसार सालकको मुख्य आहारा धमिरा र कमिला भएकाले डढेलो यसको अस्तित्वका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ। सालकको बासस्थान सुरक्षित राख्न वन क्षेत्रमा आगलागी हुन नदिन सामूहिक प्रयास आवश्यक रहेको उनले बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ ले सालकलाई संरक्षित स्तनधारी वन्यजन्तुको सूचीमा राखेको छ। ऐनअनुसार सालकको चोरीसिकारी, खरिद–बिक्री वा ओसारपसारमा संलग्न व्यक्तिलाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना, पाँचदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

विज्ञहरूका अनुसार एक सालकले वर्षमा करोडौँ धमिरा तथा अन्य कीराफट्याङ्ग्रा खाएर वातावरणीय सन्तुलन कायम गर्न योगदान पुर्‍याउने गर्दछ। त्यसैले सालकलाई जैविक विविधता संरक्षणको महत्वपूर्ण सूचक प्राणीका रूपमा समेत लिने गरिएको छ।