बागमती गाउँपालिकामा इनार सफा गर्ने क्रममा डुबेर एकको मृत्यु, दुई घाइते

पालिका संचारकर्मी
२४ जेष्ठ २०८३, आईतवार ०८:४९

मकवानपुरको बागमती गाउँपालिका–८ सात्तलेमा इनार सफा गर्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा सोही वडाको ठोटरीखोला निवासी मिनबहादुर योञ्जन रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनामा उनका भतिज नबिन योञ्जन र भान्जा समिर वाइबा घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि फापरबारी पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार इनारभित्र अक्सिजनको कमीका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।