मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको घोषणा

पालिका संचारकर्मी
२२ जेष्ठ २०८३, शुक्रबार १५:११

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को प्रतिवेदनविरुद्ध न्यायिक पुनरावलोकनका लागि अदालत जाने तयारी गरेको जनाएको छ।

एमालेका महासचिव शंकर पोखरेल ले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा आयोगको प्रतिवेदनले संवैधानिक प्रश्न उठाएको दाबी गर्दै आवश्यक परे न्यायिक पुनरावलोकनका लागि अदालत जाने र उपलब्ध सबै कानुनी उपाय प्रयोग गर्ने उल्लेख गरेका छन्।

वक्तव्यमा आयोगको प्रतिवेदनलाई राजनीतिक पूर्वाग्रह र बदनियतपूर्ण निष्कर्षमा आधारित भएको आरोप लगाइएको छ। एमालेले प्रतिवेदनमार्फत तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री तथा सञ्चारमन्त्रीविरुद्ध भूतप्रभावी कानुनको आधारमा कारबाही सिफारिस गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।

दलले आयोगको सिफारिस संविधान र कानुनी व्यवस्थाको मर्मविपरीत रहेको दाबी गर्दै प्रतिवेदनको कानुनी परीक्षण आवश्यक भएको निष्कर्ष निकालेको जनाएको छ।