आजबाट रामचरणको ‘पेड्डी’सहित तीन विदेशी फिल्म नेपाली हलमा

पालिका संचारकर्मी
२२ जेष्ठ २०८३, शुक्रबार १३:३६

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रामचरण अभिनित फिल्म पेड्डी सहित तीन विदेशी फिल्म शुक्रबारदेखि नेपालभरका सिनेमा हलमा प्रदर्शनमा आएका छन्। यससँगै बलिउड फिल्म हे जवानी तो इस्क होना है र हलिउड फिल्म मास्टर्स अफ द युनिभर्स ले पनि नेपाली दर्शकमाझ आफ्नो यात्रा सुरु गरेका छन्।

पेड्डी लाई बुची बाबु साना ले निर्देशन गरेका हुन्। १८९ मिनेट लामो यस ड्रामा–एक्सन फिल्ममा रामचरणसँगै जान्वी कपुर, शिव राजकुमारजगपति बाबु को अभिनय रहेको छ। सन् १९८० को दशकको ग्रामीण आन्ध्र प्रदेशको पृष्ठभूमिमा बनेको फिल्मले एक गाउँले युवाले खेलकुदमार्फत आफ्नो समुदायलाई एकताबद्ध बनाउँदै स्वाभिमानको रक्षा गर्ने संघर्षको कथा प्रस्तुत गर्छ।

यता, बलिउड निर्देशक डेभिड धवन निर्देशित हे जवानी तो इस्क होना है कमेडी, ड्रामा र रोमान्स जनरामा आधारित छ। १३६ मिनेट लामो फिल्ममा वरुण धवन, मृणाल ठाकुरपूजा हेग्डे मुख्य भूमिकामा छन्। प्रेम सम्बन्धमा लगातार असफल भएको एक युवकको जीवनमा अप्रत्याशित परिवर्तन आएपछि सुरु हुने घटनाक्रम फिल्मको मुख्य कथावस्तु हो।

त्यसैगरी, हलिउड फिल्म मास्टर्स अफ द युनिभर्स लाई ट्राभिस नाइट ले निर्देशन गरेका छन्। १४२ मिनेट लामो एक्सन–एड्भेन्चर तथा फेमिली जनराको यस फिल्ममा निकोलस गालिजिन, क्यामिला मेन्डेसएलिसन ब्री को अभिनय छ। पृथ्वीमा बस्ने एक युवकले आफू अर्को ग्रहको राजकुमार भएको रहस्य थाहा पाएपछि आफ्नो राज्य बचाउन अघि बढ्ने साहसिक यात्रालाई फिल्मले चित्रण गरेको छ।