बागमतीमा १० महिनामै २८१ जनाको सडक दुर्घटनामा मृत्यु

पालिका संचारकर्मी
२२ जेष्ठ २०८३, शुक्रबार १३:३१

हेटौँडा । बागमती प्रदेशमा सवारी दुर्घटनाको श्रृंखला रोकिएको छैन। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म उपत्यकाबाहेकका १० जिल्लामा १ हजार ६ सय ५८ सवारी दुर्घटना हुँदा २ सय ८१ जनाले ज्यान गुमाएका छन् भने ३ हजार २ सय ९६ जना घाइते भएका छन्।

प्रदेश प्रहरी कार्यालय बागमतीको तथ्यांकअनुसार दुर्घटनाका घटनाले प्रदेशमा सडक सुरक्षाको चुनौती थप गम्भीर बन्दै गएको संकेत गरेका छन्। गत आर्थिक वर्ष २०८१/०८२ मा यी जिल्लामा २ हजार ४ सय २२ दुर्घटना हुँदा ३ सय ४ जनाको मृत्यु भएको थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५ सय ३६ दुर्घटनामा ३ सय १५ जनाले ज्यान गुमाएका थिए।

तथ्यांकले दुर्घटनाको संख्या वर्षअनुसार उतारचढाव भए पनि मानवीय क्षति भने उच्च नै रहेको देखाएको छ। गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा दुर्घटना ८ सय ३६ वटा बढी भए पनि मृतक संख्या ११ जनाले घटेको थियो।

जिल्लागत विवरण हेर्दा चितवन सबैभन्दा बढी दुर्घटनाग्रस्त जिल्ला बनेको छ। चालु आर्थिक वर्षको १० महिनामा मात्रै चितवनमा ४ सय ८४ दुर्घटना भएका छन्। ती दुर्घटनामा ८९ जनाको मृत्यु भएको छ भने ८७ जना गम्भीर र ८ सय ९ जना सामान्य घाइते भएका छन्। गत आर्थिक वर्षमा चितवनमा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या १ सय २० पुगेको थियो।

मृतक संख्याका आधारमा मकवानपुर दोस्रो स्थानमा छ। गत आर्थिक वर्षमा ४ सय ७ दुर्घटनामा ५० जनाले ज्यान गुमाएका थिए भने चालु वर्षको यही अवधिमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक रेग्मीका अनुसार सडकको कमजोर अवस्था, चालकको लापरबाही, सवारी साधनको बढ्दो चाप तथा बाढी–पहिरोजस्ता प्राकृतिक जोखिम दुर्घटना बढ्नुका प्रमुख कारण हुन्। उनका अनुसार जोखिमयुक्त सडक खण्डमा यात्रा गर्ने सवारीसाधनको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि उकालो लागिरहेको छ।