घरायसी कलह र मदिराजन्य झगडामा दुई जनाको मृत्यु

पालिका संचारकर्मी
२१ जेष्ठ २०८३, बिहीबार ११:१४

काठमाडौं । भक्तपुरको छालिङमा घरायसी विवादले दुःखद रूप लिँदा एक महिलाको ज्यान गएको छ। श्रीमतीमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान्लाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका–१० छालिङमा डेरा गरी बस्दै आएका शङ्करापुर–६ नाङ्लेभारेका ३३ वर्षीय विदुर विश्वकर्माले आफ्नी श्रीमती सलिना विश्वकर्मामाथि खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते भएकी सलिनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घटनाका क्रममा आमालाई बचाउन खोज्दा उनीहरूका ८ वर्षीय छोरा त्रिशल विश्वकर्मा समेत घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगु का अनुसार घटनामा संलग्न विदुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

बजुरामा मदिरापछि विवाद, एक जनाको मृत्यु

उता बजुरामा मदिरा सेवनपछि भएको विवादले एक जनाको ज्यान गएको छ। बूढीनन्दा नगरपालिका–६ कोटिलामा टेकेन्द्र रावत र नीर रावतबीच स्थानीय होटलमा विवाद हुँदा ढुङ्गा प्रहारबाट नीर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बजुराका प्रहरी निरीक्षक गगनसिंह भाट का अनुसार मदिराको प्रभावमा रहेका दुवैजनाबीच झगडा हुँदा टेकेन्द्रले प्रहार गरेको ढुङ्गा लागेर नीरको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ भने थप विवरण संकलन भइरहेको जनाएको छ।