मधेसका १६ प्रतिशत बालबालिका कुपोषणको चपेटामा

२ लाख ८३ हजारभन्दा बढी बालबालिकाको परीक्षण गर्दा ४४ हजारभन्दा बढीमा कुपोषणको समस्या
पालिका संचारकर्मी
२१ जेष्ठ २०८३, बिहीबार ११:०७

धनुषा । मधेस प्रदेशमा बाल कुपोषण गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। प्रदेशभर गरिएको पोषण अवस्थाको परीक्षणमा करिब १६ प्रतिशत बालबालिका कुपोषण वा शीघ्र कुपोषणको अवस्थामा रहेको तथ्याङ्क सार्वजनिक भएको छ।

स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३३ स्थानीय तहमा सञ्चालन गरेको अभियानअन्तर्गत २ लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था परीक्षण गरिएको थियो। परीक्षणमा ३५ हजार ८८३ बालबालिका कुपोषित र ८ हजार ७७१ बालबालिका शीघ्र कुपोषित अवस्थामा रहेको पाइएको छ। दुई लाख ३३ हजार १८२ बालबालिका भने सामान्य अवस्थामा रहेका छन्।

तथ्याङ्कअनुसार कुपोषित र शीघ्र कुपोषित बालबालिकाको कुल संख्या ४४ हजार ६५४ पुगेको छ, जुन परीक्षण गरिएका बालबालिकाको १५.७६ प्रतिशत हो। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यस्तो अवस्था चिन्ताजनक र हस्तक्षेप आवश्यक पर्ने स्तरमा पर्ने बताइएको छ।

मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारी ले अभियानमार्फत गरिएको परीक्षणबाट प्रदेशको वास्तविक पोषण अवस्था उजागर भएको बताए।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव र असन्तुलित खानपानका कारण कुपोषणको समस्या जटिल बन्दै गएको बताए।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेस प्रदेशका प्रदेश सचिव डा प्रमोद यादव ले कृषि उत्पादनमा अग्रणी मानिने प्रदेशमा समेत बाल कुपोषण उच्च दरमा देखिनु चिन्ताजनक रहेको उल्लेख गरे।

नेपालको कुल जनसङ्ख्याको झण्डै २२ प्रतिशत हिस्सा बसोबास गर्ने मधेस प्रदेशमा देशभर जन्मिने करिब २९ प्रतिशत बालबालिका जन्मिने भएकाले बाल स्वास्थ्य र पोषण सुधार प्रदेशकै प्रमुख चुनौतीका रूपमा रहेको सरोकारवालाहरूले बताएका छन्।