बागमतीमा १० महिनामै १,६५८ सवारी दुर्घटना, २८१ जनाको मृत्यु
हेटौंडा । बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ हजार ६ सय ५८ सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २ सय ८१ जनाले ज्यान गुमाएका छन् भने ३ हजार २ सय ९६ जना घाइते भएका छन्।
प्रदेश प्रहरी कार्यालय बागमतीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ४ सय २२ सवारी दुर्घटना हुँदा ३ सय ४ जनाको मृत्यु भएको थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५ सय ३६ दुर्घटनामा ३ सय १५ जनाले ज्यान गुमाएका थिए।
तथ्यांकले दुर्घटनाको संख्या वर्षेनी बढ्दो क्रममा रहे पनि मृतक संख्या भने केही घट्दो देखिएको छ। गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ११ जना कमले ज्यान गुमाएका थिए।
प्रदेशभर सबैभन्दा बढी सवारी दुर्घटना चितवनमा हुने गरेको देखिएको छ। चालु आर्थिक वर्षको १० महिनामा मात्रै चितवनमा ४ सय ८४ दुर्घटना भएका छन्। ती घटनामा ८९ जनाको मृत्यु, ८७ जना गम्भीर घाइते तथा ८ सय ९ जना सामान्य घाइते भएका छन्। गत आर्थिक वर्षमा चितवनमा दुर्घटनाका कारण १ सय २० जनाले ज्यान गुमाएका थिए।
मृतक संख्याको आधारमा मकवानपुर दोस्रो स्थानमा रहेको छ। गत आर्थिक वर्षमा मकवानपुरमा ४ सय ७ दुर्घटनामा ५० जनाको मृत्यु भएको थियो भने चालु वर्षको वैशाखसम्म मृतक संख्या ५३ पुगेको छ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक रेग्मी का अनुसार सडकको दुरावस्था, चालकको लापरबाही, सवारी साधनको बढ्दो चाप तथा बाढी–पहिरोजस्ता प्राकृतिक जोखिमले दुर्घटनाको दर बढाइरहेको छ।

पालिका संचारकर्मी 







