बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्दै
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकले बुधबार निक्षेप संकलन बोलकबोल उपकरणमार्फत ५६ दिनका लागि उक्त रकम उठाउन लागेको हो।
राष्ट्र बैंकका अनुसार बोलकबोल प्रक्रिया बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत सञ्चालन हुनेछ। यसमा न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ भने थप रकम ५ करोड रुपैयाँका दरले बढाएर प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
यो बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
निक्षेप संकलनका क्रममा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ। एउटै ब्याजदरमा माग गरिएको रकम कुल निष्काशित रकमभन्दा बढी भएमा ‘प्रो–रेटा बेसिस’का आधारमा बाँडफाँड हुनेछ।
राष्ट्र बैंकले संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी जेठ १३ गते गर्ने जनाएको छ। बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्दै मुद्रा बजार सन्तुलित राख्न राष्ट्र बैंकले नियमित रूपमा यस्ता उपकरण प्रयोग गर्दै आएको छ।

पालिका संचारकर्मी 







