ढिलासुस्तीले विकास आयोजना महँगियो : ऊर्जामन्त्री श्रेष्ठ
विराजभक्त श्रेष्ठ ले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाको लागत अस्वाभाविक रूपमा बढिरहेको बताएका छन्।
पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले समयमै आयोजना सम्पन्न नहुँदा विकास निर्माण महँगो मात्र नभई लगानीकै सान्दर्भिकतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताए।
उनका अनुसार जुन लागतमा पहिले नै काम सकिनुपर्ने थियो, ढिलाइका कारण अहिले त्यसको खर्च उल्लेख्य रूपमा बढिरहेको छ। विशेषगरी जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानी निरन्तर महँगिँदै जाँदा भविष्यमा त्यस्ता परियोजनाको औचित्यमाथि नै बहस हुन सक्ने उनले उल्लेख गरे।
मन्त्री श्रेष्ठले सार्वजनिक खरिद प्रक्रिया र ठेक्का व्यवस्थापनमा रहेका जटिलताले पनि समस्या बढाएको बताए। बीचमै ठेक्का रद्द हुने तथा काम रोकिएर अन्योल सिर्जना हुने अवस्था अन्त्य गर्न कानुनी र नीतिगत छिद्रहरू बन्द गर्न आवश्यक रहेको उनको भनाइ थियो।
बजेटपछि यस विषयमा गम्भीर छलफल गरेर सुधारको पहल गर्नुपर्नेमा जोड दिँदै उनले अस्थिर नीतिगत वातावरणले प्रत्यक्ष वैदेशिक लगानी र निजी क्षेत्रको मनोबलमा नकारात्मक असर पारिरहेको बताए।

पालिका संचारकर्मी 







