“भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा विस्तार गर्ने तयारी”
हेटौंडालाई काठमाडौंसँग जोड्ने वैकल्पिक मार्गका रूपमा भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक विस्तार गर्ने विषयमा बागमती प्रदेश सरकारले चासो देखाएको छ । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटा ले प्राविधिक टोलीसहित प्रस्तावित सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको हो ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा को निमन्त्रणामा मन्त्रीसहितको टोलीले सडकको सम्भाव्यता, भौगोलिक अवस्था, कृषि सम्भावना तथा पर्यटन विकासका पक्षबारे अध्ययन गरेको जनाएको छ ।
निरीक्षणका क्रममा मन्त्री देवकोटाले सडक विस्तारलाई केवल यातायात पूर्वाधारसँग मात्र सीमित नराखी स्थानीय उत्पादन, हरित उद्यमशीलता र पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँबाट कृषि उत्पादन बजारसम्म सहज रूपमा पु¥याउन सकिने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
प्रस्तावित सडक करिब ३० किलोमिटर लामो रहेको छ । जसमध्ये ९ किलोमिटर कालोपत्रे भइसकेको छ भने आवश्यक तीनमध्ये दुई पुल निर्माण सम्पन्न भइसकेका छन् । स्थानीय तहका अनुसार करिब ५० करोड रुपैयाँ लगानी गरेमा सडक पूर्ण रूपमा सञ्चालनयोग्य बन्नेछ ।
यो मार्ग हाल प्रयोग भइरहेको भीमफेदी–देउराली–सिस्नेरी सडकभन्दा केही लामो भए पनि बढी सुरक्षित र कम जोखिमपूर्ण रहेको दाबी गरिएको छ । सडक निर्माण सम्पन्न भएपछि देउराली क्षेत्रमा हुने ट्राफिक जामको समस्या कम हुने अपेक्षा गरिएको छ ।
स्थानीयवासीले आगामी आर्थिक वर्षदेखि नै सडक निर्माणले गति लिने आशा व्यक्त गरेका छन् ।

पालिका संचारकर्मी 







