मकवानपुरका बागमती गाउँपालिकामा २१ दशमलव ५८ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड
पालिका संचारकर्मी
मकवानपुरको बागमती गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निराशाजनक देखिएको छ। सार्वजनिक विवरणअनुसार कुल २४१ जना परीक्षार्थीमध्ये केवल ५२ जना मात्र ग्रेडेड भएका छन्, जुन जम्मा २१.५८ प्रतिशत हो। बाँकी १८९ जना विद्यार्थी नन–ग्रेडेड भएका छन्।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा गाउँपालिकाका ५ वटा विद्यालयका विद्यार्थी सहभागी भएका थिए। तीमध्ये बागमती–८ स्थित जनता माध्यमिक विद्यालयबाट ६५ जना सहभागी हुँदा ३३ जना ग्रेडेड भएका छन्। त्यस्तै बागमती–२ को बागमती माध्यमिक विद्यालयबाट ४१ जना सहभागी भए पनि केवल १ जना मात्र ग्रेडेड हुन सफल भएका छन्।
यस्तै, बाघभैरव माध्यमिक विद्यालयका १० मध्ये ४ जना, सूर्य माध्यमिक विद्यालयका ३५ मध्ये ७ जना, र देवकी माध्यमिक विद्यालयका ९० मध्ये ७ जना मात्र ग्रेडेड भएका छन्। समग्रमा केही विद्यालयमा नतिजा तुलनात्मक रूपमा राम्रो देखिए पनि धेरै विद्यालयमा कमजोर प्रदर्शन देखिएको छ।









