एसईई नतिजापछि कैलालीको गोदावरीमा पनि दुई किशोरी मृत फेला

पालिका संचारकर्मी
२९ बैशाख २०८३, मंगलवार १५:३२

गोदावरी — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाप्रति असन्तुष्ट रहेको भनिएका दुई किशोरी मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–५ गेटामा १६ वर्षीय र सोही नगरपालिका–८ स्याउलेकी १५ वर्षीय किशोरी आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा मंगलबार मृत फेला परेका हुन्।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिना का अनुसार प्रारम्भिक अनुसन्धानमा दुवै किशोरी एसईई नतिजाप्रति सन्तुष्ट नरहेको पाइएको छ।

घटनापछि प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको र घटनाबारे थप अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्ता घटनाहरू पछिल्लो समय परीक्षा नतिजापछि मानसिक दबाबका कारण दोहोरिने गरेको भन्दै शिक्षाविद् तथा सरोकारवालाहरूले विद्यार्थीलाई सहारा र मनोपरामर्श आवश्यक रहेको बताएका छन्।