आज अन्तिम मौका: टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओमा आवेदन दिने समय सकिँदै
काठमाडौं — टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन परेको छ। कम्पनीले वैशाख २३ गतेदेखि बिक्री खुला गरेको साधारण सेयरमा लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाछुट्टै आईपीओ निष्कासन गरी बाँडफाँट सम्पन्न गरिसकेको थियो। अहिले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि सेयर बिक्री भइरहेको हो।
कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर निष्कासन गरेको जनाएको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले कुल ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ जारी गर्न अनुमति पाएको थियो, जसको मूल्य ४२ करोड ३० लाख रुपैयाँभन्दा बढी रहेको छ।
जारी सेयरमध्ये १२ लाख कित्ता भोजपुरका आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको थियो भने ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको थियो। त्यस्तै, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको कम्पनीले जनाएको छ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा मेरो सेयर मार्फत दिन सकिनेछ।
आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेड ले सम्हालिरहेको छ।

पालिका संचारकर्मी 







