एकैसाथ तीन नेपाली फिल्म प्रदर्शनमा, ‘लालीबजार’ले धेरै शो पायो

पालिका संचारकर्मी
२५ बैशाख २०८३, शुक्रबार ११:४५

यो साता दुई पुस्ताका तीन अभिनेत्रीका फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि मिथिला शर्माको ‘गुरु आमा’, स्वस्तिमा खड्काको ‘लालीबजार’ र वर्षा राउतको ‘मालती मंगले’ देशभरका हलमा प्रदर्शनमा आएका हुन् ।

तीनवटै फिल्मले फरक–फरक विषयवस्तु उठाएका छन् । शो संख्याका आधारमा ‘लालीबजार’ अगाडि देखिएको छ, जसले देशभर १२० भन्दा बढी शो पाएको छ । त्यसपछि ‘मालती मंगले’ले करिब १०५ शो र ‘गुरु आमा’ले ७१ शो पाएको देखिन्छ ।

रामकृष्ण ढकालले निर्माण गरेको ‘मालती मंगले’मा वर्षा राउत, विजय बराल, मेक्सम गौडेललगायत कलाकारको अभिनय छ । फिल्मले दम्पतीबीचको सम्बन्ध र त्यसमा आउने उतारचढावको कथा प्रस्तुत गरेको छ ।

स्वस्तिमा खड्का अभिनीत ‘लालीबजार’ बादी समुदायको आमा–छोरीको कथामा आधारित छ । अदालतमा परेको मुद्दाका कारण पहिले रोकिएको यो फिल्म उच्च अदालत पाटनको आदेशपछि प्रदर्शनमा आएको हो ।

त्यस्तै, मिथिला शर्माको ‘गुरु आमा’ले शिक्षक–विद्यार्थी सम्बन्धको कथा प्रस्तुत गरेको छ । फिल्ममा गौरी मल्ल, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ ।