लालबन्दी नगरपालिकाद्वारा विद्यालयभित्र अनुमति बिना भिडियो नखिच्न चेतावनी

पालिका संचारकर्मी
२५ बैशाख २०८३, शुक्रबार ११:३१

सर्लाहीको लालबन्दी नगरपालिका ले विद्यालय परिसरभित्र अनुमति बिना प्रवेश गरी भिडियो बनाउने तथा शिक्षक–विद्यार्थीसँग अन्तर्वार्ता लिने युट्युबरहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै पठनपाठन भइरहेका समयमा विद्यालयमा प्रवेश गरी अनावश्यक रूपमा भिडियो खिच्ने र सामाजिक सञ्जालमा प्रसारण गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सामुदायिक विद्यालयहरूबाट प्राप्त उजुरीका आधारमा यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । प्रधानाध्यापकहरूसँगको छलफलपछि यस्ता गतिविधिले शिक्षकहरूको मनोबल घटाएको र शैक्षिक गुणस्तरमा असर परेको निष्कर्ष निकालिएको विज्ञप्तिमा उल्लेख छ ।

नगर प्रमुख वासुदेव अधिकारीले अनुमति बिना विद्यालयभित्र प्रवेश गरी भ्रामक सामग्री उत्पादन गर्ने कार्य कानुनअनुसार दण्डनीय हुने भन्दै त्यस्ता गतिविधि नगर्न आग्रह गर्नुभएको छ । नगरपालिकाले विद्यालयको शैक्षिक वातावरण शान्त र मर्यादित बनाउन सबै सरोकारवालासँग सहयोगको पनि अपिल गरेको छ ।