लेलेस्थित ओमकार आयल उद्योगद्वारा कम तौलको तेल बिक्री, सञ्चालक पक्राउ
ललितपुरको लेलेस्थित महादेव खोलामा सञ्चालित ओमकार आयल इन्डस्ट्रिज प्रालि ले मापदण्डभन्दा कम तौल भएको खाने तेल बिक्री गरेको फेला परेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानका क्रममा उद्योगले ‘छहारी’ र ‘ओमकार’ ब्राण्डका सनफ्लावर तेल (१ लिटर र ५०० एमएल) का प्याकेटमा तोकिएको भन्दा कम तौल राखी बजारमा पठाएको पाइएको हो ।
सोही आधारमा प्रहरीले उद्योगका सञ्चालक ललितपुर महानगरपालिका–१३ पाटन निवासी ४३ वर्षीय विजय श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीले लेले, इमाडोल र थसिखेल क्षेत्रबाट कुल ९०५ कार्टुन तेल बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार बरामद तेल र पक्राउ परेका व्यक्तिलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

पालिका संचारकर्मी 







