नेपालमा कम्पनी दर्ता र खारेजी प्रक्रिया थप सहज र छिटो हुने

पालिका संचारकर्मी
२५ बैशाख २०८३, शुक्रबार ११:०९

नेपालमा कम्पनी दर्ता र खारेजी प्रक्रिया थप सहज र छिटो हुने भएको छ । Office of the Company Registrar ले सेवाग्राहीलाई लक्षित गर्दै कम्पनी प्रशासनसम्बन्धी सेवा निश्चित समयसीमाभित्र उपलब्ध गराउने व्यवस्था लागू गरेको जनाएको छ ।

कार्यालयका अनुसार अब कम्पनीको नाम स्वीकृति र नयाँ कम्पनी दर्ता एक कार्यदिनभित्र सम्पन्न गरिनेछ भने दर्तापछिका प्रशासनिक कार्य एकदेखि तीन कार्यदिनभित्र टुंग्याइनेछ । कम्पनी खारेजीसम्बन्धी निर्णय भने पाँच कार्यदिनभित्र गरिने व्यवस्था मिलाइएको छ ।

यसअघि कम्पनी दर्ता हुन कम्तीमा सात दिन लाग्ने गरेको थियो भने खारेजी प्रक्रिया झन्झटिलो र लामो हुने गुनासो रहँदै आएको थियो । कार्यालयका उप–रजिष्ट्रार एवं सूचना अधिकारी रामप्रसाद ज्ञवालीले हाल अनलाइन प्रणालीमार्फत आवश्यक कागजात पेस गरेको एक कार्यदिनमै कम्पनी दर्ता हुने व्यवस्था कार्यान्वयनमा आएको जानकारी दिनुभयो ।

कार्यालयले २०८२ चैत २२ गतेदेखि कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण सेवा अनलाइनबाटै सञ्चालन गर्दै ‘फेसलेस सेवा’ लागू गरेको जनाएको छ । यसअनुसार सेवाग्राही कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ ।