गायकबाट निर्माता बने रामकृष्ण ढकाल, शुक्रबार ‘मालती मंगले’ प्रदर्शनमा आउँदै

पालिका संचारकर्मी
२४ बैशाख २०८३, बिहीबार १२:०७

संगीत क्षेत्रमा चर्चित गायक रामकृष्ण ढकाल अब निर्माताको भूमिकामा फिल्म क्षेत्रमा पुनः सक्रिय भएका छन्। साढे दुई दशकअघि प्रदर्शन भएको फिल्म ‘आशीर्वाद’मार्फत अभिनयमा प्रवेश गरेका उनी त्यसपछि भने फिल्म अभिनयबाट टाढै रहेका थिए।

उनले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’ यही शुक्रबार (२५ वैशाख)देखि प्रदर्शनमा आउँदैछ। फिल्ममा विजय बराल, वर्षा राउतमेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथै, रामकृष्ण ढकाल स्वयंले फिल्मका गीतहरूमा स्वर दिएका छन्।

अभिनयमा पुनः फर्किने विषयमा चासो बढिरहँदा उनले आफैँ लगानी गरेर हिरो वा गायक बन्ने प्रवृत्ति गलत हुने बताएका छन्। उनका अनुसार यस्तो अभ्यासले फिल्म र संगीत दुवैको स्तर कमजोर बनाउने खतरा हुन्छ।

ढकालले आफू ३५ वर्षदेखि संगीत क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै अनुभव र भूमिकाअनुसार मात्र काम गर्नुपर्ने धारणा राखे। उनले ‘मालती मंगले’को कथाले आफूलाई निर्माताको रूपमा आकर्षित गरेको बताए।

उनका अनुसार यो फिल्म परिवारसँग बसेर हेर्न मिल्ने प्रेमकथामा आधारित छ र दर्शकलाई फरक अनुभव दिने विश्वास उनले व्यक्त गरेका छन्।