हेटौँडामा अटिजम भएका बालबालिकाका अभिभावकसँग अन्तरक्रिया कार्यक्रम

पालिका संचारकर्मी
२० चैत्र २०८२, शुक्रबार ११:०५

हेटौँडा उपमहानगरपालिका–४ मा रहेको “सेन्टर फर अटिजम” ले विश्व अटिजम दिवसको अवसर पारेर विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो भने संस्थाका अध्यक्ष हरिकृष्ण मैनालीको सभाध्यक्षता र अपाङ महासंघ बागमती प्रदेशका सदस्य बद्री विक्रम थापाको प्रमुख आतिथ्यता रहेको थियो।

चार वर्षअघि तीन जना अभिभावकको पहलमा स्थापना भएको यो सेन्टर अहिले अभिभावककै सहयोगबाट सञ्चालन भइरहेको छ। हाल यहाँ ३२ जना अटिजम भएका बालबालिका अध्ययनरत छन्। संस्थाकी सचिव अस्मिता कालिकाका अनुसार बालबालिकाको बौद्धिक र समग्र विकासका लागि विभिन्न व्यवहारिक तथा थेरापी कार्यक्रम सञ्चालन भइरहेका छन्।

सेन्टरमा स्पिच थेरापी, बिहेव्यर थेरापी, अकुपेशनल थेरापी, डे–केयर सेवा तथा अभिभावक–शिक्षक काउन्सिलिङ प्रदान गरिन्छ। साथै फिजियोथेरापी, योग र ध्यान अभ्यास पनि गराइन्छ।

बालबालिकालाई दैनिक जीवनका आवश्यक सीप—जस्तै खाना खाने, कपडा लगाउने, सरसफाइ गर्ने—सिकाइन्छ भने सञ्चार क्षमताको विकासका लागि संकेत, चित्र र शब्द प्रयोगमार्फत अभ्यास गराइन्छ। आधारभूत शिक्षा, खेलमार्फत सिकाइ, सामाजिक घुलमिल तथा अनुशासनमा समेत जोड दिइएको छ।

हाल सेन्टरमा १६ जना तालिमप्राप्त शिक्षक र २ जना थेरापिस्ट कार्यरत छन्।