मलमास आजदेखि समाप्त, धार्मिक गतिविधि फेरि चलायमान हुने

पालिका संचारकर्मी
१ असार २०८३, सोमबार ११:४६

हेटौँडा । एक महिनादेखि चलिरहेको मलमास अर्थात् पुरुषोत्तममास आजदेखि समाप्त हुँदैछ। जेठ ३ गतेदेखि सुरु भएको अधिकमासको आज अन्तिम दिन परेकाले बागमती प्रदेशका विभिन्न धार्मिकस्थलमा श्रद्धालुको उल्लेख्य उपस्थिति देखिएको छ।

मलमास समापनको अवसरमा काठमाडौँको दक्षिण–पश्चिम क्षेत्रमा रहेको प्रसिद्ध मत्स्यनारायण मन्दिरमा लागेको एक महिने मेला आज सम्पन्न हुँदैछ। यस्तै धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाममा सञ्चालन भइरहेको धार्मिक मेला पनि भक्तजनको आकर्षणको केन्द्र बनेको छ।

अधिकमासका कारण स्थगित गरिएका धार्मिक तथा सांस्कृतिक गतिविधि भोलिदेखि पुनः सुरु हुने भएका छन्। विशेषगरी बागमती प्रदेशको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा पुनः अघि बढ्ने तयारी गरिएको छ। पर्सि लगनखेलको थतिटोलबाट रथ तानेर जावलाखेल पुर्‍याउने कार्यक्रम तय गरिएको छ।

यसैबीच आज सोमबारे औँसी पनि परेको छ। वैदिक सनातन परम्पराअनुसार सोमबार परेको औँसीका दिन बिहान नबोली स्नान गर्ने धार्मिक मान्यता रहिआएको छ। यस वर्ष अधिक ज्येष्ठ कृष्ण औँसी सोमबार परेकाले विभिन्न तीर्थस्थल र मन्दिरमा भक्तजनको भीड लागेको छ।