कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का अनुत्तीर्ण विद्यार्थीहरूका लागि सञ्चालन गरिने मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले गोरखापत्रमार्फत सूचना जारी गर्दै परीक्षा साउन २ र ३ गते सञ्चालन हुने जनाएको हो।
बोर्डका अनुसार पूरक परीक्षा दुई दिनमा सम्पन्न गरिनेछ। एक विषयमा मात्र सहभागी हुने परीक्षार्थीले विषय जुनसुकै भए पनि साउन २ गते नै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ। अनिवार्य अंग्रेजी विषयको परीक्षा पनि पहिलो दिनमै सञ्चालन हुनेछ।
यस्तै, अनिवार्य अंग्रेजीसँगै अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने विद्यार्थीहरूले नेपाली विषयको परीक्षा साउन ३ गते दिनुपर्ने बोर्डले जनाएको छ। दुई विषयको परीक्षा दिने सबै परीक्षार्थीका लागि दोस्रो दिन परीक्षा सञ्चालन गरिनेछ। परीक्षा बिहान ११ बजेदेखि सुरु हुनेछ।
बोर्डले हालै कक्षा १२ को नतिजा सार्वजनिक गरेपछि पूरक परीक्षाको तयारी अघि बढाएको हो। परीक्षा फाराम भर्न चाहने विद्यार्थीहरूले १९ असारभित्र प्रतिविद्यार्थी ८ सय रुपैयाँ शुल्क सम्बन्धित बोर्ड कार्यालयको खातामा जम्मा गर्नुपर्नेछ।
निर्धारित समयभित्र शुल्क बुझाउन नसकेका विद्यार्थीहरूका लागि विलम्ब शुल्कसहित आवेदन दिने अवसर पनि राखिएको छ। त्यस्ता परीक्षार्थीले २६ असारभित्र १ हजार ६ सय रुपैयाँ बुझाई, भुक्तानीको प्रमाणसहित २८ असार कार्यालय समयभित्र सम्बन्धित विद्यालयमार्फत बोर्ड कार्यालयमा आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

पालिका संचारकर्मी 







