हेटौंडामा जेन–जी आन्दोलनः सबैभन्दा धेरै क्षति प्रदेशसभा भवनमा, ३५ करोड रुपैयाँको नोक्सानी

पालिका संचारकर्मी
२ आश्विन २०८२, बिहीबार १०:२५

हेटौंडा । जेन–जी आन्दोलनका क्रममा हेटौंडास्थित बागमती प्रदेशसभाको नयाँ र पुरानो दुवै भवनमा व्यापक क्षति पुगेको छ । प्रदेश राजधानी हेटौंडामा रहेका करिब एक दर्जन सरकारी मन्त्रालय तथा कार्यालयमध्ये सबैभन्दा ठूलो नोक्सानी प्रदेशसभा भवनमै भएको सम्बन्धित निकायले जनाएको छ । बागमती प्रदेशसभा सचिवालयका कर्मचारीहरुले निकालेका प्रारम्बिक तथ्याङक अनुसार करिब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको हो । क्षतिको पूर्ण विवरण आउन बाँकीनै रहेको छ । आगजनीबाट पाँच वटा भवन, ३ वटा चार पाग्रेगाडी, ६ वटा दुइ पाग्रे मोटरसाइकल र कार्यालयका सबैजसो सामानमा क्षति पुगेको बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले बताए । आन्दोलनकारीले आक्रोशित हुँदै प्रदेशसभाको पुरानो भवनदेखि नयाँ भवनसम्म तोडफोड र आगजनी गरेका थिए । भवनका ढोका, झ्याल, बैठक कक्ष, अभिलेख कोठा लगायतका महत्वपूर्ण संरचना ध्वस्त भएको जनाइएको छ । त्यस्तै, प्रदेशसभासँगै रहेका विभिन्न संसदीय दलका कार्यालयसमेत तोडफोडमा परेको छ । दलका अभिलेख, कागजात र उपकरणमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । यसैगरी, आन्दोलनकै क्रममा प्रदेशसभाभित्र र वरपर रहेका सवारीसाधनमा पनि आगजनी गरी क्षति पुर्‍याइएको छ । हेटौंडामा रहेका अन्य मन्त्रालय र सरकारी कार्यालयहरू पनि प्रभावित भएपनि क्षतिको हिसाबले प्रदेशसभा भवन नै सबैभन्दा बढी ध्वस्त भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रदेश राजधानीको प्रतीक मानिने प्रदेशसभा भवनमा परेको यो क्षतिले बागमती प्रदेशको राजनीतिक गतिविधि र प्रशासनिक कामकाजमा थप चुनौती सिर्जना भएको जनाइएको छ । जेन–जी आन्दोलनका क्रममा १२ करोड २९ लाख लागतमा बनेको बागमती प्रदेश सभाको नवनिर्मित भवन जलेर खरानी भएको छ । गत २७ साउनमा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको प्रदेश सभा भवनमा जम्मा तीनवटा बैठक मात्रै सञ्चालन भए । भवन निर्माण गर्न झन्डै साढे चार वर्ष लागेको थियो । २३ भदौबाट सुरु भएको जेन–जी आन्दोेलनको दोस्रो दिन प्रदर्शनकारीले भवनमा तोडफोड र आगजनी गरेका थिए । मंगलबार अपराह्न मात्रै आगजनी भएको प्रदेश सभा सुरक्षामा खटिएका एक प्रहरीले बताए । उनका अनुसार ठुलो संख्यामा आएका प्रदर्शनकारीले सुरुमा नाराबाजी गर्दै इँटा र ढुंगा प्रहार गरेका थिए । प्रदर्शन उग्र बन्दै गएपछि आन्दोलनकारी पर्खाल र गेट फोडेर प्रदेश सभा भवनभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । प्रदेश सभाको नयाँ र पुरानो दुवै भवनमा पूर्ण रूपमा क्षति पुगेको छ । कांग्रेस संसदीय दलको कार्यालयबाहेक अन्य दलका कार्यलयमा आगजनी र तोडफोड गरिएको छ । आगजनीबाट प्रदेश सभाको नयाँ भवनको संरचना पूर्ण रूपमा ध्वस्त भएको छ । पुरानो भवनको भित्री संरचना, त्यहाँ रहेका सम्पूर्ण फर्निचर, कागजात र भौतिक सामग्री जलेर नष्ट भएका छन् । १० मंसिर ०७७ मा शिलान्यास गरी १८ महिनामा सम्पन्न गर्नुपर्ने भवन निर्माण व्यवसायीको ढिलासुस्तीका कारण साढे चार वर्षसम्म लागेको थियो । दुई चरणमा ठेक्का लगाएर भवनको काम सम्पन्न गरिएको हो । निर्माण सम्पन्न भएसँगै भवन २७ साउनबाट सञ्चालनमा आएको थियो । २ सय ५० जना अट्ने सभाहल इपिएस स्यान्डबिच प्रविधिबाट निर्माण हुने गरी सहरी विकास तथा भवन कार्यालय हेटौँडाको समन्वयमा अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले निर्माण गरेको थियो ।